
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।
उनले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे । उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको प्रधानमन्त्री ओलीले दाबी गरे ।
‘तिनले खाएको शपथ झुटो हो, तिनका शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त । तिनले कहाँ कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्,’ उनले भने ।
राजनीतिक दल र तिनका नेताहरु अनशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनले बताए ।
उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit