
निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ ।
आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो ।
आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसूूचित गराइदिन पनि आग्रह गरेको छ ।
नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफूहरु नलाग्ने बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफूहरुले निर्वाचन आयोगमा आग्रह पनि गरेको उल्लेख गर्दै उनले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने धारणा राखे ।
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरु रहेको बताए । आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जान कांग्रेस तयार रहेको उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit