
अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन् ।
अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् ।
अहिले छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उनको भनाइ छ । गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।
गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ । अर्थमन्त्री शर्माले आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको उनले दाबी गरे ।
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । उनले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।”
उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
अर्थतन्त्रलाई नियमित बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit