Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

६ नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।

 

प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो । उनका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान शुरु गर्न लागेको हो ।

 

बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ । बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ छ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ ।

 

शुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । उनका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ ।

 

बुद्धले हाल नौ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ ।

 

काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ । बुद्धले यही वैशाख १८ गतेदेखि शुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा रु चार हजार ५००, पोखरा–विराटनगरमा रु छ हजार, पोखरा–सिमरामा रु चार हजार ३००, पोखरा–भैरहवामा रु तीन हजार १००, भैरहवा–भरतपुरमा रु दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा रु तीन हजार १०० भाडादर तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै