Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रधानमन्त्री ओलीलाई कारवाही गरेको पत्र बोकेर आयोग पुगे दाहाल–नेपाल 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीले कारवाही गरेको दाबी सहित दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बुझाएको छ । 

 

दाहाल–नेपाल समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरु बुधबार आयोग पुगेका हुन् । 

 

नेताहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बैठकका निर्णयहरु आयोगमा बुझाएका छन् । नेकपाका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरु निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो । 

 

केन्द्रीय कमिटीका निर्णयहरु आयोगमा पेश गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २ सय ९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको बताए । 

 

उनले तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकता पछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछी थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको बताए । 

 

उनले ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ती पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने बताऐ । उनका अनुसार करिब ७० प्रतिशत केन्द्रीय सदस्यहरु दाहाल–नेपाल समुहसँग छन् । 

 

मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।


सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन तर्फ उन्मुख भएको छ । अध्यक्ष ओली समूहले पनि मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह नै आधिकारीक भएको दावी गरेको थियो । 

 

अध्यक्ष ओली समूहको केन्द्रीय सदस्यहरुको बैठकले केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्यहरु थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै