Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ऊर्जामा काम गर्न एमसीसीलाई पर्खेर बस्नुहुन्न : ऊर्जामन्त्री रायमाझी


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् ।

 

 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् ।

 

 

विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनको भनाइ छ । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय पनि छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको धारणा छ ।

 

 

ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत् जाने समस्या विद्युत् भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । अपर्याप्तताका कारण विद्युत् काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाइ छ । 

 

 

मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनका मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको जिकिर गरे । उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको टिप्पणी गरे । प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने उनको भनाइ छ । 

 

 

मन्त्री रायमाझीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्र्तविरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै