
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए ।
केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताएका हुन् ।
तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटन पछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको बताए ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरे । अदालतको २३ फागुनको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।
‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाइहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दै छु त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ,’ उनले भने ।
तर त्यसबाट आफू नडराउने पनि प्रष्ट पारे । उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको बताए ।
ओली सरकारमा भएका कारण आफूहरुका माग पूरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पारे । उनले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताए ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । ‘आजको दिनमा प्राविधिक रुपमा राजनीतिक रुपमा केपी शर्मा ओलीसँग संसदको बहुमत पनि छैन । यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ त्यसलाई एउटा समयसम्म त्यो फाइदा प्राप्त गर्नुहोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit