Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानमन्त्रीले उद्घाटन गरे धरहरा, भने– आइफल टावरको सम्झना भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् । 

 

भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी धरहराको ऐतिहासिक धरहराको उद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २०औं तलामा पुगेर पुष्पवृष्टी गरेका थिए । 

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकभर नै विकास निर्माण तीव्र रुपमा भइरहेको दाबी गरे । धरहरा भत्किँदा मृत्यु तथा घाइते भएकाको परिवारका एक जनालाई प्राथमिकताका आधारमा रोजगारी पनि दिइने उनले बताए ।

 

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए । 

 

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको शनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२औंै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिङ्ग राखिएको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताए । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताए ।

 

९० सालको महाभूकम्पले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सीमित भएको थियो । त्यसपछि ९ तला नै राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिँदा ११ तले रहे पनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिनमुनि २ तला बनाइएको छ । 

 

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैंचा हुनेछ भने संक्षिप्त ऐतिहासिक सुनधारामा २४सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुनर्निर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै