
नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ ।
बैंकले गरेको अध्ययनअनुसार पछिल्लो समय उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको हो ।
राष्ट्र बैंकका अनुसार बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मकरूपमा सुधार देखिएको हो ।
यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्यांक संकलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो ।
सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ ।
अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गर्दा कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै सञ्चालनमा थियो । पछिल्लो अध्ययनमा भने ५०.५१ प्रतिशत पुगेको छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।
यस्तै कृषि वन तथा मत्स्यपालनमा गत असारमा सञ्चालनको अवस्था ५८.०८ प्रतिशत रहेकामा गत मङ्सिरमा आइपुग्दा ७१.९७ प्रतिशत पुगेको छ । खानीतर्फ गत असारमा ४० प्रतिशत रहेकामा मङ्सिरमा ५२.५० पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको छ । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।
निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेष्टुरेन्ट १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।
सञ्चारतर्फ ४२.२७, रियलस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप ४६.४३, शिक्षा ३७.५८, स्वास्थ्य तथा सामाजिक कार्य ५२ र अन्य क्षेत्र क्रमशः ४४ प्रतिशत सञ्चालनमा आएको केन्द्रीय बैंकले जनाएको छ । गत असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन तथा कारोवारको अवस्थामा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोवार रहेकामा मङ्सिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit