Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ल्याण्डक्रुजर चढेर आन्दोलनस्थलमा दाहाल, स्कुटरबाट नेपालले गरे बन्दको निरीक्षण 


नेकपाको दाहाल–नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारीसाधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन् । 

 

छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारीसाधनभन्दा बढी दुईपाङग्रे सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । 

 

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । तर, अध्यक्ष पुष्पकमल दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए । 

 

गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागेका थिए । 

 

गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उहाँसंगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

 

दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल भवने बा ४२ प ५८१४ नम्बरको स्कुटरमा पछाडि बसेर कोटेश्वर निवासबाट बन्दको निरीक्षणमा निस्किएका छन् ।

 

आमहड्ताल सफल बनाउन उक्त समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोक को कमाण्डरको जिम्मेवारी दिइएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै