
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गराउन आग्रह गर्दै पत्र बुझाएको छ ।
पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी उक्त पत्र बुझाएको हो ।
एमालेका महासचिव पोखरेलले निर्वाचन कानुनमा प्रधानमन्त्री र मन्त्री प्रचारप्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरुले आयोगको ध्यानाकर्षण गराएको बताए ।
उनले निर्वाचन आचारसंहिताको कार्यान्वयन गराउने सन्दर्भमा जनताको बीचमा खुलस्त ढंगले जान पाउने गरी त्यसको कार्यान्वयनमा ध्यान दिन पनि निर्वाचन आयोगलाई अनुरोध गरिएको बताएका छन् । उनले भने, ‘अहिले जस्तो आचारसंहिता र व्यवस्था छ, त्यसलाई अभ्यासमा लैजान सकिन्छ भने राम्रो हो ।’
उनले प्रधानमन्त्री चुनाव प्रचारमा जान नपाइने भनी कानुनले रोकेको र अब त्यसको पालना गराउने जिम्मेवारी सरकारको रहेको बताए ।
एमालेले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको उल्लेख गर्दै त्यसको प्रयोग सहज गराउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit