Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नोटको प्रयोग सकेसम्म कम गरौंं : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् । 

 

नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताका हुन् । 

 

पैसाको माध्यमबाट कोभिड–१९ संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उनको भनाइ छ ।

 

गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भए पनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताए । 
नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उनको भनाइ छ । नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने उनले बताए ।

 

कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने धारणा राखे ।

 

प्रत्येक फलफूल पसलमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उनको भनाइ छ । सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने उनले बताए । 

 

साइकलमा फलफूल विक्री गर्दै हिंडने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताए । साइकलमा फलफूल राखेर गोजिभरी खुद्रा पैसा बोकेर हिंडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने उनको भनाइ छ । 

 

क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताए ।

 

साइकलमा फलफूल तथा तरकारी विक्री गर्दै हिंडने व्यापारीले पनि क्यूआर कोडको प्रयोग गर्न थालेपछि राष्ट्र बैंकका अधिकारीहरु र बैंकर्सहरु खुशी देखिएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै