
सप्तरीमा प्राविधिक, खेलकुद विकास समिति र उपभोक्ता समितिको मिलमतोमा फुटबल मैदानको मर्मत संम्भार नै नगरी करिब तीन लाख रुपैयाँ भुक्तानी लिने इन्जिनियर सहित चारजना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिका– १ अन्तर्गत पर्ने खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकुद फिल्ड मर्मतसम्भारका लागि आएको बजेट कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरी आर्थिक अनियमितता गरेको भन्दै संलग्नहरु बिरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।
अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकासकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र वर्मा र प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव तथा फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादव बिरुद्ध बिगो बराबरको मागदाबी सहित मुद्धा दर्ता गरेको हो ।
अख्तियारको अनुसन्धानमा इन्जिनियर श्रेष्ठले फुटबल मैदान निर्माण योजनामा माटोको कामको नापजाँच गरी भए गरेको कामको नापी बिल बनाउनुपर्नेमा नभए नगरेको कामको नापी गरी सोहीअनुसारको प्राविधिक बिल बनाई भुक्तानीका लागि सिफारिस गरेका थिए ।
यस्तै जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष वर्मा र प्रशासकीय अधिकृत महेन्द्रप्रसाद यादवले कार्य सम्पन्न भएपश्चात योजनाको अनुगमन गरी योजना अनुरुप कार्य भए नभएको एकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा पूरा नभएको योजना सम्पन्न भएको गलत प्रतिवेदन दिएका थिए ।
उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवले योजनामा माटो पुर्ने काम सम्पन्न गरेको झुठ्ठा बिल भरपाई पेश गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने गरी बढी भुक्तानी लिएका थिए ।
अख्तियारले चारै बिरुद्ध दुई लाख पचहत्तर हजार छ सय तेइस रुपैया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (४) बमोजिम मागदाबी सहित अभियोगपत्र दर्ता गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit