
कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले १८ बुँदे सुझाव सहितको प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिमा पेश गरेको छ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन बुझाएका हुन् । उपसमितिले कोभिडसँग सम्बन्धित देशभरका अस्पताल, प्रयोगशाला र क्वारेन्टाइनहरुको स्थलगत अनुगमन गरी १८ बुँदे सुझाव सहितको प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले बताए ।
उपसमितिले कोभिडजस्ता संक्रामक महामारी भविश्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणको लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्नुपर्ने सुझाव दिएको छ ।
यस्तै देशभरका प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने, अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्नुपर्ने, चिकित्सकको अभाव हुन नदिन चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन र सुधार गर्नुपर्ने, अस्पतालहरुमा दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने, खुला बोर्डर भएका ठाउँहरुमा स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव उपसमितिको छ ।
यस्तै प्रादेशिक अस्पतालहरु प्रदेशले नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, केन्द्र, प्रदेश र स्थानीय तह अन्तर्गतका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सञ्चालन गर्न स्पष्ट नीति ल्याउनुपर्ने, प्रादेशिक र जिल्ला अस्पतालहरुलाई भेन्टिलेटरसहितको आइसियु लगायतका सेवाहरु प्रदान गर्ने गरी सुविधासम्पन्न बनाउनुपर्ने उपसमितिकाे सुझाव छ ।
यस्तै कारागारमा संक्रामक रोगको उपचारका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, निजी अस्पतालहरुमा स्वास्थ्य उपचारमा समरुपता कायम गरी दररेटसम्बन्धी नीति निर्माण गरी लागू गर्नुपर्ने, महामारी र विपदमा स्थानीय तहको भूमिकालाई बढाउन क्षमता अभिवृद्धि गर्नुपर्ने, संक्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लागि विद्यमान कानूनहरु अपुग हुने भएकाले तीनै तहका राज्य संरचनालाई ध्यान दिई छुट्टै ऐन ल्याउनुपर्नेमा समितिकाे जाेड छ ।
कोभिड–१९ खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाइनुपर्ने र छिमेकी देशहरुमा कोभिडको लहर बढ्दो क्रममा देखिएकोले नेपाल सरकारले पनि सतर्कता अपनाउन थप कदम चाल्नुपर्ने लागयतका सुझाव पनि प्रतिवेदनमा समावेस गरिएको संयोजक श्रेष्ठले बताए ।
शिक्षा तथा स्वास्थ्य समितिले गत भदौ ९ गते कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । जसमा सांसदहरु अञ्जना विशंखे, एकवाल मियाँ, तिलबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit