Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्न प्रतिबद्ध छु : प्रधानन्यायाधिश राणा

प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर राणाले संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको बताएका छन् । 

 

कानुन दिवसको उपलक्ष्यमा आईतबार एक शुभकामना सन्देश व्यक्त गर्दै प्रधानसेनापति राणाले उक्त कुरा बताएका हुन् ।

 

'आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने विशेष दिन पनि हो। न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिवद्धता समेत व्यक्त गर्दछु,' उनले शुभकामना सन्देशमा भनेका छन् । 

 

उनले यो दिवस कानून र न्याय क्षेत्रको लागि मात्र नभई सबै क्षेत्र र आमनागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ भन्दै कानून दिवसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि आग्रह गरे । 

 

'नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्य लगायतका मूल्य मान्यताहरुलाई संविधानको आधारभुत संरचनाका रुपमा स्थापित गरेको छ,' उनको भनाईं छ, 'समानता र न्यायलाई यस संविधानको मूल आत्माको रुपमा स्वीकार गरिएको छ । त्यसप्रति प्रतिवद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले सम्बद्ध सबैमा थप उर्जा र हौसला प्रदान गर्नेछ भन्ने पनि मैले विश्वास लिएको छु ।'

 

कोरोना भाइरस संकमणको गम्भीरतालाई मध्यनजर गरी यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार एवम् सम्बद्ध निकायहरुबाट जारी भएका आदेश समेतलाई दृष्टिगत गर्दै अदालतहरुको सेवा प्रवाहमा पनि संकुचन ल्याएको भन्दै उहाँले यसले आमनागरिकका संविधानप्रदत्त हक अधिकारको उपचार प्राप्ति एवम् न्यायको पहुँचमा असुविधा वा कठिनाई उत्पन्न हुन गएको बताएका छन् ।

 

विद्यमान परिस्थितिको आंकलन गरी सेवाप्रवाहलाई कमशः विस्तार गर्दै लगिने भन्दै उनले आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभुतिको लागि कियाशील रहन हामी सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै