Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बेड छैन भन्नु सरकारको लाचारी : कांग्रेस


नेपाली कांग्रेसले अस्पतालमा बेड छैन भन्नुु सरकारको लाचारी भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको टिप्पणी गरेको छ ।

 

यस्तो भनाइ इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार रहेको कांग्रेसको भनाइ छ । ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

बर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने सरकारको गैरजिम्मेवारीपन भएको कांग्रेसले जनाएको छ । 

 

‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै