Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

उपत्यकामा खाद्यान्न आपूर्ति गर्न यस्तो छ प्रशासनको योजना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । 

 

जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । 

 

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसंग छलफल गरी आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

 

प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ । निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

 

‘यस्तो अवस्थामा दाल चामल तेल नुन, गेडागुडी लगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड संयुक्त मोबाइल टीम परिचालन गरी आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौं,’ उनले भने । 

 

उनले अगाडि भने, ‘हामीले सम्पर्क नम्बर सहितको सूचना निकाल्छौ जहाँ जहाँ आवश्यक परेको छ उहाँहरुले सुपथ र उचित मूल्यमा दैनिक अत्यावश्वयक पर्ने सामानहरु खरिद गर्न सक्नुहुन्छ । हामीसंग खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुका जानकारी अनुसार अहिले प्रसस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामाग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौं ।’ 

 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्य दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने गरी मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता र माग भएबमोजिम टोल टोलमा परिचालन गरिने बताए । 

 

जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाइ गरिएको छ । अत्यावश्यक सेवा बाहेक किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्ट स्टोरहरु पनि २० गतेसम्म खोल्न पाइनेछैन ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै