
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन् ।
निगमले बिक्री गर्ने तेलको मूूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले गर्ने स्पष्ट पारे । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूूल्यलाई घटबढ गराउने पौडेलले बताए ।
बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनको भनाइ छ । निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि उनले बताए । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ ।
‘कस्टिङ स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले महंगो मूल्य हालेर किनेका छैनौं त्यो सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यसका लागि पनि आजको दिनसम्म पेट्रोलियम पदार्थ विक्री गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ । मूल्य बढ्नमा सरकारको, निगमको ठूूलो भूमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ,’ उनले भने ।
आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्री गरेको पनि उनले बताए । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।
‘यो मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनै पनि पोइन्टमा आएर चाहिँ ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ,’ उनले भने ।
हाल निगमले पेट्रोलको मूूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit