Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सगरमाथाको सफल आरोहण गर्ने पाकिस्तानी कान्छा आरोही कासिफ भन्छन् , हाम्रा हिमालहरुले नेपाल–पाकिस्तान सम्बन्ध ‘बयाँ’ गर्छन् 

आरोही सहरोज कासिफ

पाकिस्तानबाट सगरमाथा चढ्ने सबैभन्दा कान्छा उमेरका (१९ वर्ष) आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए ।  शनिबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आरोही कासिफले पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले जुन अपनत्व पायो, आफुले नेपालमा त्यही सदभाव र सहयोग पाएको बताए ।  

 

 

सगरमाथा र के टु चढेर आफुहरुले माया र सम्मान साटासाट गरेकाे कासिफको भनाई थियो ।  उनले आफ्नो आरोहणले विश्वका सर्वोच्च शिखरको स्नेह आदान–प्रदान गरेको बताए । न्यूज एजेन्सी नेपालले कान्छा आरोही सहरोज कासिफ(पाकिस्तान) सँग गरेको कुराकानी ।

 

 

तपाईलाई बधाई छ । संसारको सर्वोच्च शिखरमा पाइला राखेर आउनुभयो । कस्तो अनुभव गर्नुभयो ?

 

यो मेरो उपलब्धी हो । म संसारको सबैभन्दा अग्लो हिमाल चढेको मात्र नभएर मैले देखेको सपना पुरा गरेको छु । आठ वर्ष अगाडी मैले देखेको सपना पुरा गरेको छु । माथि पुग्दा म मात्र थिइनँ मेरो देश(पाकिस्तान) पनि माथि पुगेको थियो । त्यो मेरो हर्षको समय थियो ।

 

 


तपाई सगरमाथा चढ्दै गर्दा पाकिस्तानबाट सगरमाथा चढ्ने कम उमेरको व्यक्तिको रेकर्ड बनाउनुभयो । यो कोणबाट तपाईको अनुभव बताइदिनुस् न ।

 


एक पाकिस्तानी हुुनुको नाताले जुन उपलब्धि हासिल गरे त्यो मेरो देशको सघन तस्वीर दुनियालाई देखाएको छु । म धन्य पनि छु, २० करोड जनसंख्या भएको देशलाई प्रतिनिधित्व गरेको छु । म आफुलाई भाग्यमानी पनि ठान्दछु ।

 


यसको अर्को पक्षबाट कुरा गरौँ । नेपालमा धेरै हिमालहरु छन् । पाकिस्तानमा पनि ८ हजारमाथिको दोस्रो अग्लो हिमाल माउन्ट के टु छ । अब मलाई बताईदिनुस्, नेपाल–पाकिस्तान र हिमाल–हिमाल बीचको सम्बन्ध कस्तो लाग्छ ?

 

 


हामीलाई पहाडले नै जोडेको छ । जुन माया, स्नेह नेपालमा पाएको छु र गएको हिउँदमा के टु आरोहण गर्ने नेपाली समुहले पाकिस्तानमा पाएको स्नेह र सम्मान समान छ । यहाँ नेपाली पाकिस्तानीले मात्र हैन देश–देश बीच हिमाल–हिमाल बीच माया, स्नेह साटासाट भएको पाएको छु ।

 

 

 

 

हाम्रो दुवै देशमा कोरोना संक्रमणले परिस्थिति विषम बनेको छ । गएको दुई महिनादेखि नेपालमा हुनुहुन्छ । यहाँ बस्दा नेपाली संस्कृति कस्तो लागेको छ ? कस्तो महसुस गर्नुभयो ?

 

 

म एकदमै खुशी साथ भन्न चाहान्छु, मैले शान्तिको अनुभव गरेको छु । म मन्दिर, गुम्बा, बौद्ध घुमे । सोलुखुम्बु, नाम्चेमा भएको गुम्बा पनि हेरें । नेपालको जुन संस्कृति छ, यहाँका बासिन्दा हँसमुख र खुसी छन् । नेपालीको मन सफा र राम्रो पाएको छु । यो देश धेरै सुन्दर छ । पाकिस्तानीहरु नेपाललाई धेरै माया गर्छन् । नेपालको पक्षमा उभिन चाहान्छन् । म फेरीफेरी पनि नेपाल आउन चाहान्छु ।

 

 


यो त सगरमाथा र के टु चढाइएको कुरा भयो । अर्को हाम्रो जन–जनको सम्बन्ध पनि छ । नेपाल र नेपाली बारे थोरै भएपनि थाहा पाउनुभयो । पाकिस्तानमा गएर नेपाल र नेपालीको बारेमा के गर्न सक्नुहुन्छ ?

 


अहिले नेपालीले भोगेको समस्या भिजा अन एराइभल हो । यो सरकारको उच्चस्तरको निर्णय होला । के गर्ने, यस बाहेक नेपालीले पाकिस्तानमा पाउने सम्मानमा कुनै कमि छैन । आजसम्म मैले थाहा पाएसम्म त्यस्तो कुनै सम्मानमा कमि हुने काम भएको छैन । मैले नेपालमा जुन प्रकारको माया, सम्मान पाएको छु, यस्तै कोही नेपाली दाजुभाई पाकिस्तान आउनुभयो भने यो भन्दा राम्रो र अझ धेरै सम्मान दिन चाहान्छु । यसो गर्न सकियो भने दुवै देशको सम्बन्ध राम्रो बनिरहन्छ ।

 


जाँदा जाँदै तपाइ सगरमाथा चढ्न जाँदा कुनै यस्तो अनुभव गर्नुभयो, जुन आगामी दिनमा सुधार्नुपर्ने ?

 


मैले त्यस्तो केही पाइनँ । मलाई सबै राम्रो लागेको छ । सबैकुरा व्यवस्थित थियो । म सबै नेपाली दाजुभाईलाई धन्यवाद दिन चाहान्छु । म सेभेन समिट कम्पनीलाई विशेष धन्यवाद दिन चाहान्छु । सबै ठिक छ । भन्नुपर्ने केही छैन । आवश्यक पनि छैन ।

 


सगरमाथा आरोही सहरोज कासिफ १९ वर्षका छन् । उनले सगरमाथा चढ्नुअघि १७ वर्षको उमेरमा १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७मी.) चढेर किर्तिमानी बनाएका छन् । यसअघि पाकिस्तानबाट सगरमाथा चढ्ने पहिलो महिला समिना वेगले २३ वर्षको उमेरमा(सन् २०१३मा) कम उमेरमा सगरमाथा चढ्ने पाकिस्तानीको रेकर्ड बनाएकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै