
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन् ।
उनले खोप आयात भएको ७ दिनभित्रमा वितरण शुरु भइसक्ने पनि जानकारी दिए । उनका अनुसार खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिनेछ ।
यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने पनि उनले बताए । ‘खोप आउँछ । निश्चित रुपले हामी समयमै लगाउँछौं र यो अभियानको रुपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ । त्यसका अरु तयारीहरु भइसकेको अवस्था छ ।’
खोपको प्राप्ति अन्य व्यावसायिक वस्तुको प्राप्ति जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको तर पनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनको भनाइ छ ।
पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने उनले बताए ।
खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंक्रिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दीर्घ रोगीलाई गरिने उनले जानकारी दिए ।
रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको उनले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit