
सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए ।
मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ । मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पूरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit