Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

वैकल्पिक सरकार बनाउन छलफलमा कांग्रेस, यसो भन्छन् कांग्रेस नेता

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । 

 

यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए । उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे । 

 

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड–१९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे । 

 

‘नेपाली कांग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन । हामीले ५ बर्ष पछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो । तर ५ बर्षका लागि निर्वाचित भनेर आएको ओली जीको सरकार अन्त्यन्तै गैरजिम्मेवार ठहरियो । भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट । सबै कोणबाट जनताविरोधी देखिए,’ उनले भने ।

 

त्यसैले कांग्रेसले संसदमा संख्या कम भए पनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर वर्तमान सरकारको विकल्प दिन खोजेको उनले बताए । ‘विभिन्न दलका नेताहरुसंग छलफल जारी छ । त्यसमा नेकपा माओवादी केन्द्रले विश्वासको मतलाई असफल पार्ने कार्यमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरिसकेको छ । जसपा अलि अलमलमा छ । कुराकानी भइरहेको छ,’ महतले भने ।

 

देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए । उनले कोभिड–१९ संक्रमण  र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, बेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आइरहँदा पनि सरकार पूरै असंवेदनशील र अकर्मण्य भएको टिप्पणी गरे । 

 

यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गरे । संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न  तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न उनले सरकारसंग माग गरे । साथै, महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली कांग्रेसले साथ दिने उनले बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै