
कानून,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामति कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रिय प्रणाली लागू गर्न छलफल भइरहेको बताएका छन् । उनले निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनु पर्ने भन्दै जथाभाबी मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने बताएका छन् । उनले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रिय प्रणालीको रुपमा बिस्तार गर्न छलफल भइरहेको बताएका छन् । उनले सोर्स, फोर्स लगाएर सुगममा बसेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको बताएका छन् ।
‘यो अम्ब्रेला जुन बन्दैछ, हामीले सकेसम्म पारदर्शी बनाउँ । निजामती कर्मचारीहरुको सरुवा, बढुवाका कुरा । जोसँग कर्मचारीको समग्र सरोकार जोडिएको छ । सरोकार जोडिने के हो भने नियुक्ति पारदर्शी हुनुपर्छ । कम्पिटिटिभ हुनुपर्छ । लोकसेवाबाट आउनुपर्छ । जथाभावि मान्छे राखेर सेवा प्रशासनलाई बिथोल्नु भएन । यो एउटा सरोकार थियो । त्यसकारणले सेवा प्रवेशलाई हामीले प्रतिष्पर्धाबाट ल्याउने र प्रतिष्पर्धी सक्षम कर्मचारी प्रशासन खोजेको हो । अर्कोतिर सरुवाका बारेमा हामीले धेरै मेहेनत गरेर केही वयवस्थापन गर्ने कोशिस गरेका छौँ । अहिलेको ड्राफ्ट भित्र’ उनले भने ।
‘सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रिय प्रणालीमा सबै कर्मचारी सबै ठाउँमा गएको नै हुनुपर्ने, अनिवार्य जानुपर्ने भन्ने ढंगले चक्रिय प्रणालीभित्र अनिवार्य गरिदियौँ भने सोर्स, फोर्स लगाएर सुगममा मात्रै बसिरहने, दुर्गममा नगइकन पनि पेन्सन पाक्ने, कोही दुर्गमका दुर्गम नै रहने, अन्त्य हुनुपर्छ । त्यसलाई पनि अनिवार्य गरिदिने हो कि, हामीभित्र यो पनि छलफल भइरहेको छ । अब बढुवाका लागि पनि आफू भन्दा ठूलो कर्मचारीले काम नगर्दा पनि नम्बर दिने, मूल्यांकन गरिदिने, कसैले मरिमरि गरिसकेको छ, एप्रोच छैन । त्यस्तो अवस्था पनि अन्यायपूर्ण हो । त्यसलाई पनि वस्तुनिष्ठ बनाउने हो कि ? त्यसलाई पनि वैज्ञानिक आधार दिने हो कि ? यो विषयमा पनि छलफल भइरहेको छ । कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि म यो पोस्टमा पुग्छु भन्ने होस् । भन्ने एउटा पारदर्शी, सहज ढंगले आफैँले अनुमान गर्न सक्ने व्याच प्रमोशन पो गर्ने हो कि ? यसमा पनि छलफल भइरहेको छ’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit