
अखिल भारत नेपाली एकता मञ्चले प्रवासी नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ । भारत मध्यप्रदेशको भोपालमा मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्ने जनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्माले पार्टीको जित सुनिश्चित गराउन निर्वाचनमा स्वदेशमा आएर प्रचार प्रसार अभियानलाई कमान्ड सिस्टममा लाने र सोहीअनुसार प्रतिबद्ध भएर फिल्डमा खटिन नेता कार्यकर्तालाई आग्रह गरे ।
‘माओवादी पार्टीले निर्वाचन हारे लोकतन्त्र पनि हार्छ । यसैले निर्वाचन लडाइँ जित्नै पर्ने बाध्यता छ,’ उनले भने । प्रवास समन्वय समिति सचिब टीबी पाठकले बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा जान्न नसक्ने धारणा राखे ।
मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीले प्रवासी नेपालीको नोट चले पनि भोट नचलेको भन्दै राजनीतिक दलमाथि दबाब बढाउनुपर्ने जनाए । ‘प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन,’ उनले भने, ‘५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसक्यो ।’
उनले भने, ‘नेपाली जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । सर्वोच्चले २०७४ विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन आदेश दिएको थियो ।
कार्यक्रम सञ्चालन मञ्चका महासचिव चक्रबहादुर मलातीले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका वरिष्ठ उपाध्यक्ष जेबी रसाली गरेका थिए । यही १२–१३ मार्चमा कार्यक्रम भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit