
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरेका हुन् ।
बिपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केपी ओलीले यो गरेन, त्यो गरेन भन्ने दिन गएकोसमेत स्मरण गराए । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने उनले बताए ।
नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउनेछैन । एक ठाउँमा पनि सरकार चुक्न पाउनेछैन । केपी ओलीले यो गरेन, त्यो गरेन भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्दछ ।’
नेता थापाले सरकारलाई सफल बनाउन पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औँ महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई चेतावनीसमेत गरे ।
‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit