Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णः आयोग 

निर्वाचन आयोगले छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेको अवस्थामा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् । 

 


आयोगका प्रवक्ता पौडेलले भने, ‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन् । कोही काखा पाखा हुँदैनन् । निर्वाचन, निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने नै हो । त्यो भनेको मत गणना गरेर परिणाम ल्याउने बेला सम्मकै ड्युटी हो । त्यो विषयमा आयोग कहीँ पनि चुकेको छैन । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ र कहिँ चुकेको छैन ।’ 

 


प्रवक्ता पौडेलले स्थानीय निर्वाचनमा अहिलेसम्म निर्विरोधसहित १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भएको बताएका छन् । जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले बताए ।  त्यसैगरी वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित भएको उनले बताए ।  

 


विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।

 

त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले बताए । 

 


पौडेलले मतदान स्थगित भइसकेका विभिन्न स्थानमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सूचना दिएर निर्वाचन गराइने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै