
नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरु कुनै पार्टीसँग एकता नगर्ने बताए । सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टी सँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे ।
‘अहिले नै हामी अरु कुनै पार्टी सँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुने छैन । यो पनि प्रष्ट पार्न चाहन्छु म । हाम्रो संगठनको संरचना विद्यमान छ, समानान्तर रुपमा सबै कमिटीहरु विद्यमान छन्,’ उनले भने ।
अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरीबीको चक्रबाट मुक्त गर्न आफूहरुको ध्यान केन्द्रीत हुने बताए । उनले पार्टीमा युवालाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि जनाए । ‘पार्टी भित्र पनि कमिटीका जिम्मेवारीहरु प्रदान गर्नलाई र भोगि गएर नयाँ पुस्तालाई एकपछि अर्को जिम्मेवारी सुम्पिनका लागि तयार भएर बसेका छौं,’ उनले भने ।
उनले आफूहरु माक्र्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए । नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit