
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । उनले शिक्षामा पहुँच विस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनशील र नवप्रवर्द्धनशील मानव पूँजी विकास निर्माण गरिने बताए ।
त्यस्तै प्रदेश र स्थानीय तहको सहकार्यमा रोजगारीमुलक, जीवनोपयोगी, शिक्षा प्रदान गर्न विद्यालय शिक्षा सुधार क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । १४ वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १ सय वटा विद्यालयमा बिस्तार गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।
उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाअन्तर्गत १ हजार २ सय सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्ने पनि बताए । त्यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाइ क्रमशः ८ कक्षासम्म बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा कक्षा ६ सम्म विस्तार गर्ने भएको छ ।
भर्चुअलमाध्यमबाट शिक्षणको व्यवस्था
गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक प्रदेशमा २० वटा विद्यालयको लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिदका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री शर्माले विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्इवस्थापन समितिबाट स्वीकृति भए मा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाएको बताए ।
अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड विनियोजन गरेको बताए । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालय सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गर्ने भएको छ ।
अर्थमन्त्री शर्माले डडेल्धुरामा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने, काठमाडौं बाहेक विभिन्न स्थानमा मेडिकल कलेज स्थापना गर्न सहजीकरण गर्ने, खगोलशास्त्र सम्बन्धी ज्ञान तथा मनोरञ्जनका लागि सरकारी तथा सार्वजनिक जग्गा एकीकृत गरी कामनपाको समन्वयमा बहुउपयोगी प्लानिटोरीयम पार्कसहितको संरचना निर्माण गर्ने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit