Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

विदेशीलाई पनि नेपालीसरह हवाई भाडादर तोकिनुपर्छः मन्त्री आले 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । 

 


शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि  विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताएका हुन् । 

 


उनले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको बताए । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताए । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिए ।  

 


त्यस्तै मन्त्री आलेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दापनि सुनुवाई नभएको बताए । विमानस्थलमा आउने विदेशी पर्यटक शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको पनि आलेले बताए ।  

 

उनले गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटक विमानस्थलमा दुई घण्टा लाइनमा उभिनुपर्ने तथा एटीएमबाट डलर निकाल्ने कामलाई बिगार्ने काम भएको बताए ।

 

यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको आलेको भनाइ छ। उनले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन,अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै