Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दुई कोरियाबीच पुनर्मिलनको वातावरण बन्दै : कूटनीतिक विज्ञहरु


कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरुले बताएका छन् । युनिभर्सल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजना गरेको कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

 

सो अवसरमा पूर्व उपराष्ट्रपति परमानन्द झाले दुवै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अँगालेको बताए । उनले दुवै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलन भए विश्वमा सकारात्मक सन्देश जाने धारणा राखे ।

 

उनले यस्तो प्रकारको कार्यक्रममार्फत दुवै देशलाई शान्तिपूर्ण एकीकरण गर्न सहजता प्रदान गरेकोमा फेडेरेसनलाई धन्यवाद दिए ।

 

फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायद्विपको मिलनको लागि २०१८ मा भएको ओलम्पिक खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अहिले दुवै देशले एकीकरणको अभियान सुरु गरेको जनाए ।

 

दुवै देशका राष्ट्र प्रमुखहरुले २०१८ भेटेर संवादहीनताको बाटोलाई तोडेको उनको भनाइ थियो ।

 

उनले दुवै देशले एक अर्कालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले पहिले दुवै देशलाई द्वन्द्वले टुक्राएको बताउँदै शान्तिपूर्ण पुनर्मिलन बाहेक अर्को विकल्प नभएको धारणा राखे । 

 

कार्यक्रममा स्टडी फोरम फर सेल्फ रिलायन्स नेपालका अध्यक्ष सुभाषकाजी श्रेष्ठले कोरिया एकिकरणको अभियान विस्तारै सम्भव हुने बताए ।

 

युनिभर्सल पीस फेडेरेसन नेपालका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुुनर्मिलनका लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुवै कोरियाको एकीकरण विस्तारै सम्भव बन्दै जाने जनाए । 

 

दुवै देशका नेताहरुले एक आपसमा पटकपटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै उनले यस्ता कार्यक्रममार्फत कोरियाली प्रायद्विपको पुनर्मिलनलाई सहयोग गर्ने विचार व्यक्त गरे ।
 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

अमेरिकी श्रम विभागको तथ्यांक अनुसार इराक र अफगानिस्तान युद्धमा घाइते वा मृत्यु भएका ३०० नेपालीले अहिलेसम्म क्षतिपूर्ति माग गरेका छन् । तर हजारौं नेपाली संलग्न यो युद्धमा...

माघ १३, २०७७