
नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ ।
मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपाति प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा स्थायी कमिटी सदस्यहरु र प्रदेश इन्चार्जहरुले समुहगत छलफल चलिरहेका ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन् ।
स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्म-आलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन् । महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उनले बताएका छन् ।
‘हामी सबैले स्वीकारीसक्यौँ नि त अलि अलि हामी बिग्रेका हौँ । मुख्य कुरो के हो भने अध्यक्ष कमरेडले आफ्नो तर्फबाट स्वीकारीसक्नु भो । जम्मै आफुमाथि लिनुभएको छ । बाँकी हामीले लिने कि नलिने ? अध्यक्ष मात्र रुपान्तरण भएर त हुँदैन । हामी ठुलो जमात गडबढको भयो भने त उहाँलाई पनि गडबढ गराइदिने हो नि त, त्यसैले उहाँ जसरी आत्माआलोचित हुनुभएको छ, हामी आफ्नो ठाउँमा कहाँ कहाँ चुकेका छौँ हामी पनि आत्माआलोचित हुँदै यो हलबाट जाँदाखेरी एक ढिक्का भएर अगाडी बढ्नुपर्छ’ उनले भने ।
अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने हुने बताएका छन् । त्यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उनले बताएका छन् ।
‘आर्थिक नीति देशको आत्मनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने र आम उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनसमुदायको स्थानिय स्रोत, साधनमाथि स्वामित्व स्थापन गर्दै सामुदायिक माध्यमबाट विकास निर्माण र समृद्धिको अभियान सञ्चालन गर्ने’ उनले भने ।
जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आफ्नो मत लिखित रुपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताएका छन् । नेपाल विचारमा गरिब भएको उनको भनाइ छ । उनले संघीयता सहि अर्थमा लागु हुन नसकेको बताएका छन् ।
‘मेरो विचारमा के भने नेपाललाई एउटा विचार चाहिएको छ । नयाँ स्ट्राटेजी चाहिएको छ । नयाँ डेभलपमेन्ट स्ट्राटेजी चाहिएको छ । त्यो भनेको ज्ञान, चेतना, कार्यक्रम हो त्यो छैन अहिले । विचारमा नेपाल गरिब छ । हाम्रो ज्ञानको परम्परा असाध्यै कमजोर छ । बुद्धको ज्ञान प्रचार हुन पाएन, वैदेहीको, किराँतको, काठमाडौंको र खसहरुको जो ज्ञानको परम्परा थियो त्यसलाई कहिल्यै पनि वैधता प्रदान गरिएन । ज्ञान र चेतनामा हामी कमजोर छौँ । सबैतिर के हल्ला चलेको छ भने राजनीति धेर भो, ज्ञान धेर भो अब बिकास गर्ने । त्यो भनेको टाउको बिना हिड्छु भनेजस्तै हो । संघीयता सहि अर्थमा लागु भएन । संघीयता भनेको अर्थ के हो त भन्दा चौतारामा बसेर, बारिको डिलमा बसेर, चौरमा बसेर विकास निर्माणका छलफलहरु गर्न सकियोस् । सजिलै कार्य सम्पादन होस् भनेर संघीयता ल्याएको । बुख्याचाजस्तो भयो । तल गएका बजेटहरुको निगरानी संयन्त्र बन्नुप-यो भन्ने मेरो माग हो’ उनले भने ।
उनले संघीयताका कारण स्थानीय तहमा अनियमितता बढेको भन्दै स्थानीय तहमा पुगेका बजेट कार्यान्वयनको निगरानी गर्न संयन्त्र बनाउनुपर्ने आफ्नो माग रहेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit