
सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।
सबै राजनीतिक दलहरुले २-२ महिना संयोजन गर्ने सो समन्वय समितिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहने छन् भने एकीकृत समाजवादीको तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहने छन् । नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने बारेमा सञ्चारमन्त्री कार्कीले जानकारी गराए ।
उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनले निकट भविष्यमा हुने राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनहरुमा पाँच दलीय गठबन्धनको संयुक्त रुपमा त्यो निर्वाचनलाई तयारी गर्ने निर्णयका साथ गठबन्धन समन्वय समितिको निर्माण भएको छ । त्यो समन्वय समितिमा नेपाली काँग्रेसको तर्फबाट २ जना रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, त्यस्तै गरेर माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधव नेपालको पाटीबाट माधव नेपाल र एक जनाको नाम दिन बाँकि छ’ उनले भने ।
त्यस्तै गरेर उपेन्द्र यादवको दलबाट उपेन्द्र यादव र एक जनाको नाम आउन बाँकि छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र माननीय दुर्गा पौडेलको एउटा समन्वय समिति गठन भएको छ । त्यो समितिमा सरकारको तर्फबाट मन्त्रीको हैसियतमा मैले त्यसमा सहभागिता जनाउनेछु । त्यो समितिको मिटिङहरुमा प्रधानमन्त्रीको उपस्थिति रहनेछ । त्यस मिटिङले मुलुकलाई जुन उद्देश्यको निमित्त गठबन्धनको निर्माण भएको थियो । त्यो उद्देश्यलाई प्रभावकारी र व्यवस्थित रुपमाले अगाडि बढाउनका निमित्त यो गठबन्धन अगाडि बढ्नेछ । यो गठबन्धनमा २÷२ महिनामा रोटेशनको आधारमा संयोजन गर्नेछ । पहिलो पटक नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल २ महिनाका निमित्त संयोजन गर्नु हुनेछ । र त्यसको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको जुन अपेक्षा छ, त्यो अपेक्षा पूरा गराउन सरकारलाई सहयोग गर्नु रहेको छ’ उनले भने ।
प्रधानमन्त्री देउवा अनिवार्य रुपमा उपस्थिति हुने सो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गराउन सहयोग गर्नु रहेको पनि मन्त्री कार्कीले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit