
गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् ।
सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनको भनाइ थियो ।
मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हरने भिसा प्रणालीको सुरुवात गरिएको बतए । यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।
विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit