Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

एक्कासी किन फेरियो देउवाको बोली 

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाको बोली एकाएक फेरिएको छ । सोमबार उनले ओलीका बिषयमा खुलेर गरेको आलोचनाले देउवा सत्तारोहणको केही नजिक रहेको बुझ्न त्यती कठिन छैन् । 

 

देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाए । उनले भारत विरोधी नाराबाट उदाउनुभएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताए । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको उनको तर्क थियो । 

 

कम्युनिष्टहरु अवसरवादी भएकोले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको देउवाको बुझाई थियो ।  आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको समेत उनले खुलासा गरे । 

 

उनले भने ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनिहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनिहरु खाली एउटा अवसरवादी हुन । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरु लागिरहेका छौं ।’

 

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाको दाबी थियो  । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको देउवाको बुझाई थियो । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेका उनले खुलाए । 

 


नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने  देउवाले स्पष्ट पारे ।  उनले भने  ‘नेपालमा धेरै ठूलो चुनौति आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हरठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ । त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नी किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुप¥यो । त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ । अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन् । मैले तपाईहरुलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन । बहुमतको सरकार छ त्यहाँ । अहिले सम्म बहुमतको सरकार भन्नु प¥यो नी फिर्ता निलए सम्म त । माओवादी र एमाले मिलेर बहुमत छ । के गर्ने अब । प्रचण्डले फिर्ता लिएका छैनन् ।’ 

 


कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरुलाई कब्जा गर्ने उद्देश्य सहित अगाडि बढीराखेको बताए  । त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको उनको आरोप थियो  । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको सिटौलाले बताए । 

 

नेता सिटौलाले सरकारबाट प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता माथि पनि अङ्कुस लगाउने खतरा बढेको बताउनुभयो । सरकार जसरीपनि संवैधानिक प्रबन्धको दुरुपयोग गरी सिङ्गो लोकतन्त्रमाथि प्रहार गर्ने दिशामा अगाडि बढीरहेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै