
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
उनले जो–जो व्यक्ति भए पनि रुख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउन आफूहरु लागिरहेको पनि जनाए ।
‘देशभरका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउन एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहन्छु,’ उनले भने ।
महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे ।
महामन्त्री शर्माले कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit