Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अदालतको समस्याबारे धेरै बोल्न मिल्दैन, सत्ता गठबन्धनमा छलफल गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे ।

 

नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजना गरेको एक कार्यक्रममा उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे । 

 

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे । ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन् न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन,’ उनले भने ।

 

‘मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचारा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धि सकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ देउवाले भने ।

 

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए । उनले नेपाली कांग्रेसको १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै