Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कार्यकर्ता रिहा नगरेकोप्रति विप्लव नेकपाको असन्तुष्टि, सरकारले सहमति पालना नगरेको आरोप

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

 

गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको बताए । उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे । 

 

३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले गरे । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आईतबार संघीय राजधानी काठमाण्डौमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफूले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे ।

 

‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनीतिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद मार्फत नागरिकमा छाएको निरासालाई हल गर्ने र एकपटक नेपाली जनता आफैले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर अपिल गरेको छ,’ उनले भने । 

 

‘धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिबद्धताप्रति हाम्रो पार्टी इमान्दार छ । तर राज्यले तदारुकता नदेखाएकोले अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमानदारीपूर्वक उभ्याओस्,’ लामाले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै