
लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र एमओयुमा हस्ताक्षर भएको छ ।
आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए । उनले लगानीसँग प्रविधि भित्र्याउँदा निजी क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गरे ।
अहिले विदेशी लगानी ल्याउन केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए । उनले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको जनाए ।
नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताए । उनले नेपाल डुइङ बिजनेस सुधार गर्न निजी क्षेत्र र लगानी बोर्ड लाग्नु पर्ने बताए ।
अर्थमन्त्री शर्माले आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताए ।
उनले जलविद्युत्मा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गरे । मन्त्री शर्माले मुलुकमा लगानी बढाउनको लागि ‘डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’तयार गर्न लागेको बताए ।
उनले यो फण्डमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताए । मन्त्री शर्माले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई जोड्न अहिले बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुले मुलुकको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गरे ।
कार्यक्रममा लगानी बोर्डका सीइओ सुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताए । उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए । भट्टले अहिले विदेशी लगानी प्रतिबद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए । उनले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए ।
उनले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने धारणा राखे । गोल्छाले नेपालमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएको दाबी गरे ।
महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit