Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

काठमाडौंमा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न 

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । 

 


बिहीबार वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

 


कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार , त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो । 

 


कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गरेको थियो ।  प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।  

 


प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए । 

 


नेपाल–भारत  कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दू, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियो ।  

 

राजेन्द्र शलभ, स्नेह सायमी , उर्दू प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायत कविले कविता वाचन गरे । 

 


कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरेका थिए । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए ।  

 

कवि एवम् राष्ट्रिय साहित्य प्रतिष्ठानका सचिव रञ्जना निरौला कार्यक्रम उद्घोषक थिइन् भने प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे कार्यक्रमको सभापति थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै