Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ल्यान्डफिल साइटको व्यवस्थापन नहुँदा पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ ।

 

विमानस्थल निर्माण कार्य करिब सकिएर २ साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए ।

 

तर, विमानस्थलको निर्माण कार्य पूरा भएर पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल ल्यान्डफिल साइट व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको हो । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्न पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बने पनि काम भएको छैन । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न सकिँदैन । 

 


मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सहित सरोकारवाला निकायहरु बीच  बुद्ध एयरले ल्याण्डफिल साइटको विषयमा छलफल भएको छ । छलफल कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले नीजि क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर काम गर्ने बताए ।

 

उनले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइट हटाएर नयाँ ठाँउमा बनाउन सहजीकरण समितिले १५ दिन भित्र ल्याण्डफिल साइट बनाउने स्थानको रिर्पोट ल्याउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले ल्याण्डफिल साइट लागि तोकिएको स्थानको जग्गाको संरचना, सरकार वा निजी जग्गाको विषयमा तत्काल समितिले टुङगो लगाउनु पर्ने बताए । 

 


प्रतिनिधि सभाकी सांसद विद्या भट्टराईले विमानस्थल बनाउने बेलामा नै विमानस्थल सञ्चालनमा ल्याण्डफिल साइट मुख्य समस्या रहेको बताए पनि काम अहिलेसम्म हुन नसक्नुले राम्रो सन्देश नदिएको बताइन् ।

 

उनले ल्याण्डफिल्ड साइड समस्या समाधानको लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय भए पनि जनतासँग समन्वय नहुँदा समस्या आएकाले जनतासँग समन्वय गर्नुपर्नेमा जोड दिइन् ।  सांसद भट्टराईले समस्यामा कहाँ छ भन्ने भन्दा पनि अहिले समस्याको समाधान कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरिन् । 

 

विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा विमानस्थल कहिले सञ्चालन हुन्छ भन्ने टुंगो छैन । स्थानीय तह अर्थात् पोखरा महानगरले ल्यान्डफिल साइट खोज्नुपर्ने भए पनि निधोमा पुग्न सकेको छैन । चिनियाँ सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको ९५ प्रतिशत काम पूरा भइसकेको छ । ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ ।

 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनाराया आचार्यले भने, ‘डाँडाको कटान त अब केही महिनामा सकिन्छ तर ल्यान्डफिल साइट कहाँ बनाउने हो र अहिले भइरहेको स्थानबाट कहिले सार्ने हो भन्ने नै ठूलो अन्योल रहेको छ । उडान सञ्चालनका लागि प्रदेश सरकारले अब नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाई कम्पनीका प्रमुखहरुलाई पोखरा नै बोलाएर छलफल गर्दै छ । काँहुडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै