
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेका छन् ।
उनले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरेका छन् । उनले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताएका छन् ।
उनले दलालहरुले नेपाल सरकारले प्रतिबन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।
‘म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइसकेपछि श्रमीकहरुको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु । यसै सिलसिलामा हामीले विभिन्न छड्के अनुगमनदेखि लिएर विभिन्न नयाँ नयाँ गन्तव्यहरुको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौँ । यसै सिलसिलामा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरुको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ।
‘पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पु-याइ दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयाैँ गुनासो आउने गरेको छ । विभिन्न सञ्चारमाध्यमबाट होस् वा मेरो आफ्नो मोबाइलमा फोन गरेर यी गुनासोहरु आउने गरेका छन् । नेपाली युवाहरु रोजगारी पाउने आशामा दलालहरुलाई लाखौँ रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्कहरुको सञ्जालमा समेत पर्ने देखिएको छ’ उनले भने ।
‘आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा यूएई पु-याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सलटेन्सीहरु, ट्राभल सञ्चालकहरु र विभिन्न दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको छ । उनीहरु बारे उजुरी पनि आएको छ । वैदेशिक रोजगार ऐन बिपरित भिजिट भिसाको रुपमा श्रमीकहरुलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ’ उनले भने ।
‘तत्काल यो समस्याको समाधान गर्न र यसलाई कसरी निर्मुल बनाउन सकिन्छ भनेर गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि ज्यूहरु सम्मिलित एउटा अधिकार सम्पन्न कार्यदल आजमात्रै हामीले गठन गरेका छौँ । यसरी अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अफ्ठ्यारोमा पर्नु भएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु । त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु, टिपाउन सक्नुहुनेछ । र अन्त्यमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानको लागि पनि हार्दिक आग्रह गर्दछु’ उनले भने ।
उनले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit