
प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् । माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि जसपा उपेन्द्र यादव पक्षका दुई मन्त्रीले राजीनामा दिएका हुन् ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वइच्छाले राजीनामा दिएको बताएका छन् ।
राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए ।
एक मन्त्री र एक राज्यमन्त्री सहित माओवादी केन्द्र आज प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ।
मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।
अब माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit