Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नुपर्छ : विमलेन्द्र निधी

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । 

 

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा उनले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । उनले नेपाली कांग्रेसमा  रुपान्तरण र पुस्ताहस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

उनले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताएका छन् । उनले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हित संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताएका छन् ।

 

‘आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको  किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेद्वारी रहेको समेत स्पष्ट गर्न चाहन्छु । मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु’ उनले भने ।

 

उनले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताएका छन् । उनले देउवा र पौडेलको मार्ग निर्देशन अनुसार नै पार्टी सञ्चालन गर्ने पनि बताएका छन् ।

 

‘शेरबहादुर त एकदम सर्वोच्च नेता हुनुभयो नि, मार्गदर्शक भइहाल्नु हुन्छ, शेरबहादुरजी, रामचन्द्रजी उहाँहरुलाई हामीले नेपाली काँग्रेसको सबैभन्दा सर्वोच्च पदमा, सर्वोच्च नेताको रुपमा जसरी गणेशमानजी, किसुनजीहरु हुनुहुन्छ, त्यस्तै हामी राख्छौँ । उहाँहरुले भने अनुसार नै हामी पार्टी सञ्चालन गर्दछौँ’ उनले भने ।

 

उनले नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनर्स्थापित गराउने प्रतिबद्धता जनाएका छन् । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने वाचा गर्दै सभापतिमा लड्छु भनेदेखि नै प्रदेश २ मा आफूलाई कमजोर बनाउन धेरै आक्रमण गरिएको दाबी गरेका छन् । 

प्रतिक्रिया

2
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै