Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

उच्च जोखिममा रहेका बस्तीलाई सरकारले स्थानान्तरण गर्छ : शहरी विकासमन्त्री

फाइल तस्बिर

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।

 

उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकी छन् । बिहीबारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले नेपाल सरकारको १५ औँ योजनामा प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाइएको पनि बताएकी छन् ।  

 

राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औँ  योजनामा नेपालको दिगो विकासको लक्ष्यहरु र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको बताएकी छन् । चालु आर्थिक वर्षका कार्यक्रमहरुमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको बताएकी छन् ।

 

‘योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छ । राष्ट्रिय योजना आयोगबाट तयार भएको १५ औँ  योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन्’ उनले भनिन् ।

 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले मानव बस्तीहरु जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताएका छन् । भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरुको पुनःनिर्माण लगभग सकिएको उनले बताएका छन् । पुनर्निर्माण पछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको बताउँदै भूकम्प पछिको पुनर्निर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्त्वपूर्ण सिकाइ हुने उनले जानकारी दिएका छन् ।

 

‘१८ हजार परिवारहरुको घर बनाउनु पर्नेमा १४ हजार परिवारहरुको घर निर्माण पूर्णरुपमा सम्पन्न भएको छ, उनीहरुले थर्ड ट्रान्जेक्शन पनि लिइसकेका छन्, नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले कुनै पनि बस्ती समस्यामा छैन । १२ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अब आउँदो दिनमा चाँडै नै बाँकी रहेका घर निर्माणको कामलाई सकेर विकासको निम्ति हामी अघि बढ्नेछौँ’ उनले भने ।

 

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुनेछ । सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ ।  सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै