Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

विद्यासुन्दर शाक्यको आक्रोश : पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा मेयर शाक्यले पुरातत्व विभागमाथि आक्रोश व्यक्त गरेका हुन् । 

 

कमलपोखरीको निर्माणका क्रममा पनि विभागकै कारण विवाद भएको मेयर शाक्यले बताए । अहिले विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए । 

 

‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न,’ उनले भने, ‘जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं ।’

 

महानगरभित्र रहेका कतिपय सम्पदाहरु विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको उनको भनाइ छ । हनुमानढोकाभित्र रहेका सत्तलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको बताए ।

 

सबै पसल र होटलहरु नहटाए स्थानीय र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए । मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि उनको आरोप छ । 

 

‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु । आफूले गर्दा जे पनि ठीक अरुले गर्दा बेठीक भन्न पाइन्न । हाम्रो लागि बोल्ने को ? उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न,’ उनले भने ।

 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राकिरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै