Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अमेरिकाद्वारा एक लाख बढी कोभिडविरुद्धको फाइजर खोप प्रदान

अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन् । 

 

अनुदान सहायतास्वरुप युनिसेफमार्फत खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ । कार्यक्रममा बोल्दै निर्देशक केभान्शाडले कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिने कार्यक्रम अनुसार १ लाख भन्दा बढी कोभिडविरुद्धको फाईजर खोप नेपाललाई सहयोग गर्न पाउँदा अमेरिकालाई खुशी लागेको बताइन् । 

 

उनले यो खोपलाई भण्डारण तथा वितरण गर्न उचित संरचना समेत सुनिश्चत गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा गर्व लागेको बताइन् ।

 

निर्देशक केभान्शाडले अमेरिकाले यस अघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको स्मरण गराइन् । त्यसैगरी अमेरिकाले करिब १२ करोड २० लाख डलरभन्दा बढिको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराईसकिएको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

 

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढि मात्राको कोभिडविरुद्धको फाईजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरेका थिए । 

 

अमेरिका कोभिड महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यमा नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको पनि यूएसएआईडीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै