
निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् ।
निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । त्यस्तै बाँकी रहेको मतपत्र छपाइको काम पनि जारी रहेको पौडेलको भनाइ छ ।
आयोगका अनुसार मंगलबारदेखि स्थानीय तहको लागि मतपत्र ढुवानीको काम सुरु हुनेछ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै पौडेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी दिए ।
आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गतेभित्र अनिवार्यरुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाले अनुमति लिएको पनि उल्लेख गरेको छ । ती संस्थाका करिब २० हजार पर्यवेक्षकलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुलाई पनि निर्वाचनको सूचना दिन निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit