Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

एमालेले देशलाई अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाे छ : जीवनराम श्रेष्ठ

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

 

 

शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरुसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुगेका थिए । भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरुबीच कुराकानी भइरहेको उनले बताएका छन् । 

 

 

‘यो जुनखालको अन्योलतालाई कसरी चिर्ने ? नेकपा एमालेको षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरु, आन्दोलनमार्फत् उठाइएका विषयहरु र एमसीसीका सन्दर्भमा अहिलेसम्म जतिपनि शंकाका कुराहरु छन्, त्यसमा राष्ट्रहित विपरितका जुन दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ, र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा(एकीकृत समाजवादी)को निर्णय नै हो । उठेका कुराहरुलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ ? त्यसलाई कसरी सच्याउन सक्छौँ । त्यसलाई विशुद्ध विकासको योजनाको रुपमा मात्र कसरी अगाडी बढाउन सक्छौँ भन्ने विषयमा हामी छलफलमा छौँ । त्यसका उपायहरु खोजि गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिक रुपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरुका बिचमा छलफलहरु अगाडी बढाइरहेका छौँ’ उनले भने ।

 

 

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझैपनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताएका छन् । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनले स्पष्ट पारेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै