Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भिजिट भिसाको दूरुपयोग नगर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।

 

 

गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दूरुपयोग नगर्न आग्रह गरेका हुन् । त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । 

 

 

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराएका छन् । उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन् । उनले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् । 

 

‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रीपरिषदमा कुरा राख्नु भएको छ । त्यतापट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भिर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दूरुपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो’ उनले भने । 

 

 

‘यसमा नेपाल सरकार गृह मन्त्रालय लागि परेको छ । पहिलो त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहजहोस् भन्ने हामी सबैको प्रयत्न हो । विभिन्न मन्त्रालयसँग आवद्ध र विभिन्न विभागका राष्ट्र सेवकहरुसँग यो विषयलाई व्यवस्थित बनाउन आवश्यक समन्वयहोस् भन्ने हाम्रो मूल मनसाय हो । श्रम स्विकृति लिएर जानेहरुका लागि पनि सहज वातावरण बनाउने काम हामी सबैको हो’ उनले भने ।

 

 

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गरेका छन् । उनले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताएका छन् । 

 

 

‘घरेलु कामदार महिलाहरुको ठूलो समस्या छ । त्यसैगरी व्यक्तिगत श्रम स्विकृति लिएर गएका नेपालीहरुको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ’ उनले भने ।

 

 

उनले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहो¥याएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै