Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

गणतन्त्र सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् ।

 

 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी छन् । उनले राष्ट्रियताको मर्मलाई आत्मासात् गर्नुपर्ने पनि बताएकी छन् । संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनले बताएकी छन् । 

 

 

‘हामीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक रुपान्तरण र राष्ट्रियताका मुलभुत मर्मलाई आत्मासात् गर्न सक्नुपर्दछ । नेपाली जनताको दशकौँ लामो संघर्षको प्रतिफल स्वरुप स्थापित हाम्रो राजनीतिक प्रणालीले संविधानद्वारा प्रत्याभुत गरिएका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको निरन्तर संरक्षण र कार्यान्वयनबाट नै स्थायित्व प्राप्त गर्न सम्भव छ । राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक छ । समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ’ उनले भनिन् ।

 

 

उनले अरबौँ रुपैयाको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताएकी छन् । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने पनि बताएकी छन् ।उनले सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्ने बताएकी छन् । किसान, मजदुर र श्रमजीवि जनताको मुहारमा हाँसो र जीवनमा सकारात्मक परिवर्तन आए मात्रै प्राप्त गरेको राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने उनको भनाइ छ ।

 

 

सो अवसरमा उनले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मिना आचार्य, प्राज्ञ गोपीरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसी लगायतलाई सम्मान गरेकी छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै